Status : 0000-00-00 00:00:00
हिजोआज सुरथ बहादुरलाई आफ्नै घरबाट बाहीर निस्कन फुर्सद छैन । कुनैबेला जहान परिवार पाल्नका लागि कहाँ जाउँ भन्दै चिन्ताले पिरोल्ने सुरथ बहादुर अधिकारी अहिले घरबाट बाहीर निस्कनको लागि दश पटक सोचेर फुर्सद निकाल्नु पर्ने हुन्छ । चेतनाको कमी र आर्थिक अभावका कारण उतिबेलाको जमानामा राम्रो शिक्षा दिक्षा पाउन नसकेका सुरथ बहादुरको आधा जीन्दगी कमाउनकै लागि कालापहाडमा बित्यो ।
प्रत्येक वर्ष भारत पस्दा पनि उनलाई आफ्नो पाँच जना परिवारको लागि एकछान खान र एकसरो लगाउने जुटाउन मुस्किल पर्ने गथ्र्यो,’ गरेको सुरथ बहादुरले आफ्नो दुःखेसो पोखे । उमेरले आधा सतक पुग्न लागेका सुरथ बहादुरको जन्म सुर्खेतको दुर्गम क्षेत्र रजेना–४ गुफाखोलामा एक सामान्य परिवारमा भएको थियो । हाल तीन छोरा सहित पाँच जनाको परिवार भएको सुरथ बहादुरले घरमा काम गर्ने मान्छेको समस्या हुँदा सानै उमेरमा बिहे गर्न पुगे ।
उनी अहिले पनि सम्झन्छन् ‘घरमा अर्को कमाउने मान्छे नभएपछि श्रीमति छोडेर भारत तिर छिर्नु प¥यो । धेरै वर्ष भारतमै बिताउएँ । तर केही सिप नलागेपछि आफ्नै ठाउँमा बेरोजगार भएर बसिराखेको थिए ।’ उनको विगत अतिनै नमिठो भएपनि वर्तमान भने निकै व्यस्त रहेको छ । घरमा एक फर्ममा कुखुरा पालनका साथै बाँझा बारीमा तरकारी फलाएका छन् । अहिले आफ्नोे दैनिकी कुखुरा स्याहार्न र बारीको तरकारी गोडमेलमै वित्ने गरेको सुरथ बहादुरले उल्लखे गरे ।
हातमा सिप र ज्ञान नहुँदा बेरोजगार बनेर बसेका सुरथ बहादुरको जीवनमा एउटा गैरसरकारी संस्थाको सानो कार्यक्रममले परिवर्तन गरिदियो । एक वर्ष अघि (विसं २०७२ चैत्र २८मा) कृषि, स्वास्थ्य तथा बैकल्पीक जीविकोपार्जन प्रवद्धर्न (पहल) कार्यक्रममा सहभागी भएपश्चात उनको कालापहाड जाने मनशाय नै बदलियो । सुरुवातीमा तरकारी खेतीका लागि तालिम लिएपनि जग्गा सम्बन्धी त्यति साह्रो ज्ञान नहुँदा तालिम व्यर्थमै गयो । तर पछिल्लो पटक लिएको व्यवसायिक कुखुरा पालन तालिमले भने बेरोजगार सुरथ बहादुरलाई व्यस्त सुरथ बहादुरमा परिणत गरिदियो ।
पहल कार्यक्रमले गाउँमा किसानहरुको जीविकोपार्जनमा सहयोग गर्ने उद्देश्यले गठन गरेको समूहको उपाध्यक्षमा बसेर उनले धेरै कुरा सिक्ने मौका पाएको बताउँछन् । आजसम्म कुनैपनि नेृतत्व गर्ने ठाउँमा सहभागी नभएका सुरथ बहादुरलाई परिवर्तनशिल कृषि समूहको उपाध्यध्यमा बस्न पाउँदा धेरै कुराहरु एकअर्कामा साटासाट गर्ने मौका मिल्यो । उक्त समूहमा बचत समेत उठाउने कार्य सुुरु गरे । बचत सुरु गरेश्चात सुरथ बहादुरले गाउँमै बसेर केही गर्ने सोचाई राखे ।
‘समूहमा आवद्ध भएपछि मैले बचत पनि उठाउन सुरु गरें । त्यसपछि यही नै केही गर्न सकिन्छ भन्ने सोच पलायो । मैले सुरुमा करेसाबारी सम्बन्धी तालिम लिँए । तर त्यसबाट आम्दानी हुने सम्भावना देखिएन । त्यसपछि पुनः पहलले कुखुरा पालन ब्यवस्थापन सम्बन्धी तालिम दिन लागेको थाहाँ पाए । र ५ दिने तालिम लिन पुँगे’ उनले बताए । तालिमलले आफ्नो उत्सुकता बढाएपछि सुरथ बहादुर सोही समूहमार्फत ऋण गरेर सुरुवातीका लागि १५ वटा कुखुरा पालन सुरु गरेको बताए ।
गाउँमा सामान्य लगानीबाट कुखुरा पालन गरेका सुरथ बहादुरले १५ वटा कुखुराबाट सुरुवातीमै ३ हजार रुपैयाँ मुनाफा गर्न सफल भए । हेर्दा सानो रकम भएपनि आफ्ना लागि निकै ठूलो भएको सुरथ बहादुरको भनाइ छ । त्यसपछि उनले ११७ वटा कुखुरा लिएर पाल्न थाले । त्यसवर्ष रोगका कारण २३ वटा कुखुरा मरेपनि ३२ हजार ६० रुपैँया आम्दानी भयो । आफ्नै ठाउँमा एकैपटक यति धेरै रुपैयाँ कमाएको सुरथ बहादुरको पहिलो पटक थियो । उनले कुखुराबाट राम्रै कमाइ हुने थाहा पाएपछि दिर्घकालिन रुपमै स्थानीय स्तरमा व्यवसाय गरेर बस्ने निधो गरे । त्यसपछि उनले पटक–पटक कुखुराहरु किन्दै पाल्ने र बिक्रि गर्ने काम गर्दै आएका छन् । गत हिउँदको महिनामा चिसोका कारण ५६ मध्ये आठवटा मरेपनि बाँकी केही कुखुराबाट सातहजार पाँचसय ४५ रुपैयाँ मुनाफा गरे । यस्तै, उनले ९२ वटा कुखुरा राखेकोमा सावाँ छोडर १५ हजार बढी मुनाफा गर्न सफल भए ।
हाल उनले १२० वटा कुखुरा खोरमा हालेका छन् । उनले यसपटक अलि धेरै आम्दानी लिने लक्ष्य राखेका छन् । साथै उनी अहिले तरकारी उत्पादनमा समेत लागि परेका छन् । एउटा कामको लागि घरमा बस्नै पर्ने भो । त्यसैले तरकारी खेती पनि सुरु गरें।’ उनले भने । कुखुरा बिक्री र तरकारी बेचेर आएको आर्थिकले छोराहरुलाई वीरेन्द्रनगरमा पढाउनुका साथै उनले जहान परिवारलाई लत्ताकपडाको व्यवस्था गर्दै आएका छन् । रजेनाजस्तो् दुर्गम क्षेत्रमा स्थानीय बजार अभावका कारण अँझ भनेजति आम्दानी लिन नसकेको उनी बताउँछन् । बजारको उचित व्यवस्थापन हुनसक्ने अवस्था सिर्जना भए यसक्षेत्रका किसानहरुले तरकारी र कुखुराबाटै जीवन चलाउन सक्ने सम्भावना रहेको सुरथ बहादुरको अनुभव रहेको छ । युवाहरुलाई बैदेशिक रोजगारीमा पठाउनुभन्दा स्थानीय स्तरमा बजार प्रवद्र्धन गरी ठाउँ अनुसार उत्पादन हुने क्षेत्रमा लगानी गर्नुपर्ने उनको भनाइ छ । विदेशमा बगाउने पशिना यही बगाउन सकेमा दुईछाक टार्नकै लागि खाडीमा भौंतारिरहनु नपर्ने सुरथ बहादुरको अनुभव छ ।